Monday, April 13, 2020

नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना
छन्द – स्रग्विणी
होस् नयाँ वर्ष यो शान्तिको हर्षको
सभ्यता फैलियोस् पूर्वीयाऽदर्शको ।
दुःख दारिद्र्य पीडा हटुन् दूरमा
बस्न कोही कतै नपरोस् कष्टमा ।।१।।
राष्ट्रको होस् विकासै नहोस् भ्रष्टता
न्याय पाउन् सदा होस् सदाचारता ।
दण्ड कोही नपाउन् नहोस् दण्डता
खण्ड कोही नहुन् होस् सदाऽखण्डता ।।२।।
फैलियुन् प्रातःमा वेदका गुञ्जनै
साँझमा फैलियुन् भक्तिका पुञ्जनै ।
सृष्टिका दृष्टिमा दृष्टिका सृष्टिमा
प्रेमदावानलै वर्षियोस् वृष्टिमा ।।३।।
राममा जीव छन् राम छन् जीवमा
दृष्टि यस्तो बनोस् प्राणधारीमहाँ ।
एकले अन्यको दुःखकष्टै हरोस्
प्रेमले प्रेमकै प्रेरणा भर्दियोस् ।।४।।
आश बढ्दै गरोस् क्वै निराशै नहोस्
क्वै विनाकालमा मर्नुपर्ने नहोस् ।
शक्ति होस् जीवनी, भक्ति होस् पावनी
अन्त्यमा प्राप्त होस् सत्यकै धाम नि ।।५।।
-चेतनारायण लामिछाने,
फेदीखोला - ५, बाँगेफड्के, स्याङ्जा ।
मिति ः २०७७।०१।०१

No comments:

Post a Comment