Saturday, April 11, 2020

कविता : के ईश्वरै छैन र ?

२०७६।१२।२६
छन्द : शार्दूलविक्रीडित

हेर्ने सुन्दर नेत्र बिच दिए राखेर यो नासिका
सुन्ने कान दिए दाँत मुख जिब्रो दिए भाषिका
हिँड्ने पाउ दिए टेक्न धरती पाएर हिँड्दै जो
छैनन् ईश्वर भन्छ त्यो यदि भने आश्चर्य पो के रह्यो ।।१।।

सेवा गर्न काम गर्न जसले हातै दिए यी दुई
खाँँदैछन् उनकै प्रसाद दिनहुँ के लाउँछन् खै फुई
बोल्ने वाक्य सिकाई बोल्न जसले लायो बोल्नू भनी
छैनन् ईश्वर भन्छ त्यो यदि भने आश्चर्य के हो तनि ।।२।।

गर्भैभित्र पसेर देह कसले रच्दै यो सुन्दर
ठोक्दोहो कसले तहाँ बसिकनै काँटी किला हम्मर
जोगाए कृमिविष्टबाट कसले त्यो गर्भका पाशमा
छैनन् ईश्वर भन्छ त्यो यदि भने आश्चर्य अर्को कहाँ ।।३।।

सानामा कसले मातृस्तनमा राखी खुवायो दुध
बढ्दैछौ कुन अन्न खाई अहिले साँचो कुरा यो बुझ
पाई केवल एक बीज पृथिवी दिन्छिन् हजारौँ गुना
छैनन् ईश्वर भन्छ त्यो यदि भने आश्चर्य अर्को कुन ।।४।।

आमा बा अनि भन्दथ्यौ ससुरा सासू भनी दिन्दिन
भन्छौ लास भनेर खै किन तिमी लागेन माया किन ?
झोस्दैछौ भन आज बह्नि मुखमा त्यै देह यो हैन
छैनन् ईश्वर भन्दछौ यदि भने आश्चर्य अर्को ? ।।५।।

चल्दैनन् जडवस्तु चेतनविना लौ हेर संसारमा
आफै नै यदि बन्दथे घट भने हुन्थे कुमाले कहाँ
त्यस्तै यो विचित्र सुन्दर जगत् हो ईश्वरैको कृति
छन् शास्त्रै अनुमान मान जसका पूर्वीय यो सँस्कृति ।।६।।

No comments:

Post a Comment