Tuesday, May 26, 2026

देवदेश नेपाल

 २०८२-१०-७


कविता

देवदेश नेपाल


वैकुण्ठाधिपति त्रिलोकपति नै ब्रह्माण्डका नायक

गीता भारत वेदशास्त्र सबका ज्ञाता तथा गायक ।

शालिग्राम बनेर आउनुभयो श्रीगण्डकीकाखमा 

पाऊँ जन्म म बारबार भगवन् ! यै देश नेपालमा।।१।।


कैलाशाधिपति स्वयं पशुपति श्रीपार्वती साथमा 

गर्छन् नित्य विहार शैलबिचमा श्रीधाम नेपालमा

ब्रह्मा इन्द्र मरुद्गणादि सुर जो रम्छन् यही स्थानमा 

पाऊँ जन्म म बारबार भगवन् ! यै देश नेपालमा।।२।।


जन्मे बुद्ध जहाँ तथा जनकले बाले दियो ज्ञानको 

हिंसा दूर गरे, गरे सुरु यहीँ अध्यात्मको ध्यानको ।

प्रादुर्भाव भयो यसै भुवनमा श्री जानकी रूपमा 

पाऊँ जन्म म बारबार भगवन् ! यै देश नेपालमा।।३।।


कर्णाली अनि कौशिकी कलकलै भेरी र राप्ती पनि 

बग्छन् नित्य जहाँ पवित्र सरिता नारायणी गण्डकी ।

पार्छन् शोभित नित्य पुष्करहरू फेवा र रारा यहाँ 

पाऊँ जन्म म बारबार भगवन् ! यै देश नेपालमा।।४।।


भाषा संस्कृति छन् अनेक थरिका संस्कार भिन्नै तर

छन् एकै जनता सुराष्ट्र बलियो निर्माणका खातिर।

छन् सर्वोच्च विशाल शैल हिमका सौन्दर्य खानी यहाँ 

पाऊँ जन्म म बारबार भगवन् ! यै देश नेपालमा।।५।।


चेतनारायण लामिछाने

महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालय (गुरुकुलम्)

व्यास ३ दमौली तनहुँ 

No comments:

Post a Comment