Saturday, April 11, 2020

कविता : मन मनुजको लोभनगरी



छन्द : शिखरिणी

मरेका देख्दैछन् प्रतिदिन कयौ जीव जगमा 
हरेका छन् आफै मनुज अरुको प्राण भवमा
अझै सोच्दैनन् खै पनि यसरी मर्दछु भनी
यहाँभन्दा धेरै छ अझ कुन आश्चर्य-धरणी  ।।१।।

कहाँ सोच्ला भोगी गरुडमुखभित्रै पनि
मर्दैछु आफू अब त नमरोस् मूषक भनी
सिकारीका सामू हरिण जसरी खोज्दछ तृण
गरौँला भोग् भन्दै मनुज पनि खोज्दै छ नि ऋण ।।२।।

अगाडि नै देख्छन् कति नृपति भस्मै पनि भए
नै हूँ भन्नेले कति धन सम्पत् सँग लगे
सबै देख्दादेख्दै पनि फगत लोभीमन गरी
थुपार्नैमा लाग्ने मन मनुजको 'लोभनगरी' ।।३।।

सधैँ बढ्दै जान्छन् जति विषय जो भोग्छ नरले
कहाँ निभ्ला आगो अझ बरु बढेकै छ घृतले ।
त्यसैले बिस्तारै विषयविषभोगी कम बनौँ
गरेँ मैले के के परमपदका निम्ति विचरौँ ।।४।।

गरौँ आफ्नै चिन्तन् किन र कसरी आगम भयो ।
कहाँ होला यात्रा कति छ अब खर्चै कति भयो ? 
मनुष्यै बन्दा झन् अलिकति विचार् मोक्ष नगरे
भयो जीवन व्यर्थै स्मरण हरिको  कत्ति  नभए ।५।।

No comments:

Post a Comment