Saturday, April 11, 2020

कविता : चिन्ता



छन्द - भुजङ्गप्रयात

कतै छैन खाने कुराको र चिन्ता
कतै हुन्छ धेरै र छान्ने छ चिन्ता
कसैमा छ सम्पत् र कोही विपद्मा
मिलेमा त हामी नि हट्ला कि चिन्ता ।।१।।

कसैले त फुर्सद् नपाएर चिन्ता
छ कोही त कामै नपाएर चिन्ता ।
छ बेफुर्सदी जो र कामै विनाका 
मिलौँ आज हामी, र हट्ने छ चिन्ता ।।२।।

तिमी चिन्तितै छौ नपाएर पैसा
र ऊ चिन्तितै भो हराएर पैसा ।
न हट्ने छ 'पैसा हटाएर' चिन्ता
मिले पो नहोला सबैमाझ चिन्ता ।।३।।

नपाएर ओत्ने छ चिन्ता -कसैको-
छ आवास, बस्दैन मान्छे र चिन्ता ।।
मिलेदेखि चिन्ता कहाँबाट आओस्
न चिन्ता तिमीमा उनीमा न चिन्ता ।।४।।

भनौँ राम रामै गरौँ काम राम्रो
सबै हुन् नि हाम्रा सबै नै त हाम्रो ।
गरे उच्च छाती नहोला कि चिन्ता
भए प्रेम साथी नहोला कि चिन्ता ।।५।।
२०७६।११।२६गते सोमबार

1 comment: